विराटनगर, २९ असार । पश्चिम चितवनको मेघौली गोलाघाटस्थित नारायणी नदीमा भेटिएको शव भारतीय नागरिकको पहिचान खुलेको छ ।
बसका यात्रु ऋषि पाल साहले बोकेको भारतीय आधार कार्डको आधारमा उहाँको पहिचान खुलेको हो । जिल्ला प्रशासन कार्यालय चितवनले मृतकको पहिचान भएको र उनी बसका यात्रु भएको जनाएको छ ।
चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा शुक्रबार आएको लेदोसहितको पहिरोका कारण यात्रुसहित त्रिशूली नदीमा दुई बस खसेका थिए ।
दु्र्घटनालगत्तै शुक्रबार नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका सबै तालिमप्राप्त समूह दिनभर खोजी कार्यमा खटिएका थिए । आज पनि खोजीकार्य जारी राखिएको छ । यात्रु खोज्न सशस्त्रका चार, नेपाल प्रहरीको एउटा मोटरबोट, गोताखोर टोलीलगायत परिचालन गरिएको छ । शुक्रबार भेटिएका कपडालाई आधार बनाएर आज खोजबिन गरिराखीको छ ।
भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रबार बिहान करिब ३ बजे वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको बसलाई लेदोसहितको पहिरोले त्रिशूलीमा बगाएको थियो । बसमा सवार तीन जना पौडिएर ज्यान जोगाउन सफल भएका थिए ।
साहको शव दुर्घटना स्थलभन्दा करिब ५० किलो मिटर टाढा नारायणी नदी किनारमा भेटिएको हो