Logo

सिरहामा पोखरीमा डुबेर एकै परिवारका तीन बालबालिकाको निधन



काठमाडौं, २९ असार । सिरहाको गोलबजार नगरपालिका-७ चोहर्वास्थित पुरानो पशु हाटबजार परिसरमा जमेको पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको ज्यान गएको छ।

मृत्यु हुनेमा अवास शेखका १२ वर्षीया छोरी सबनम खातुन, १० वर्षीया छोरी रुबिना खातुन र ७ वर्षीय छोरा साइफुल शेख रहेका छन्। उनीहरू रौतहटको जिगरवा स्थायी घर भए पनि विगत करिब ३० वर्षदेखि परिवारसहित गोलबजार–७ मा बसोबास गर्दै आएका थिए। अवास शेखले कवाडी संकलनको काम गरेर परिवारको जीविकोपार्जन गर्दै आएका थिए।

प्रहरीका अनुसार आइतबार दिउँसो करिब ३ः३० बजे घरबाट खेल्न निस्किएका पाँच सन्तानमध्ये तीन जना पुरानो पशु हाटबजार परिसरमा पुगेका थिए। पशुहरूलाई पानी खुवाउन निर्माण गरिएको खाल्डोमा जमेको पानीमा नुहाउने क्रममा उनीहरू डुबेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घटनालगत्तै स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा तीनै जनालाई उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याइएको थियो। तर अस्पताल पुग्नासाथ चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्