
काठमाडौँ, २० जेठ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले फोहर विर्सजन गर्ने नुवाकोटको सिसडोललाई एक हप्ताभित्र दुर्गन्धमुक्त बनाउने आश्वासन दिएका छन् ।
उपमेयर सुनिता डंगोलसहित शुक्रवार काठमाडौँको फोहर विर्सजन गर्ने सिसडोलको अनुगमन गर्ने क्रममा स्थानीयवासीको गुनासो सुनेपछि मेयर साहले केमिकल हालेर एक हप्ताभित्र त्यहाँ दुर्गन्ध आउने अवस्थाको अन्त्य गर्ने बताएका हुन् । त्यसका लागि आफूले विज्ञहरूसँग आवश्यक छलफल गरेको पनि उनले बताए । मेयर साहले तीन महिनाभित्र मल र ग्यास दुवै निकाल्न सुरु गरेर त्यहाँको फोहर व्यवस्थापन गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका हुन् ।
मेयर साहले फोहर व्यवस्थापनका लागि सड्ने र नसड्ने फोहर छुट्टयाउनुपर्ने उल्लेख गर्दै त्यसका लागि छिट्टै काठमाडौँवासीको घरघरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने योजना पनि सार्वजनिक गरेका छन् । त्यस अवसरमा उनले तत्कालका लागि भने काठमाडौँमा थुप्रिएको फोहर व्यवस्थापनमा अवरोध नगर्न पनि स्थानीयवासीसँग आग्रह गरेका हुन् ।







