काठमाडौँ, २९ असार । नारायणगढ–मुग्लिन सडकअन्तर्गत सिमलतालबाट शुक्रबार बिहान त्रिशूली नदीमा खसेका दुईवटा दुई दिन लगातार खोज्दा पनि भेटिएको छैन।
शुक्रबार र शनिबार दिनभर खोजी गर्दा पनि बस फेला पार्न नसकिएको हो । खोजी कार्यका लागि गोताखोरसहितत सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको टोली खटिएको छ।
खोज्दै जाँदा शनिबार बिहान सिमलतालभन्दा ५० किलोमिटर तल गोलाघाटमा एउटा शव फेला परेको थियो भने दिउँसो पूर्वी नवलपरासीको गैँडाकोटस्थित नारायणी नदी किनारमा दुईवटा शव फेला परेका थिए।
फेला परेका तीनमध्ये दुईवटा शव आफन्तको सहयोगमा सनाखत भइसकेको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं डीएसपी भेषराज रिजालका अनुसार, अब भोलि बिहानैबाट फेरि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले खोजी कार्य सुरु गर्नेछन्।
सकेजति सबै उपकरण प्रयोग गरेर खोजी कार्य जारी राख्दा पनि बस फेला पार्न नसकेपछि उद्धारमा खटिएका सुरक्षाकर्मी निराश भएका छन्।
सशस्त्र प्रहरीका सहप्रवक्ता, डीएसपी शैलेन्द्र थापाका अनुसार पानीभित्र प्रयोग गरी खोज्न सकिने सोनार क्यामरा, वाटर ड्रोन, पाइपलाइन इन्सपेक्सन सिस्टमसहित खोजी गरिएको थियो।
सशस्त्र डीएसपी थापाका अनुसार सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय (कुरिनटार) बाट ९ जना गोताखोरसहित २५ जना र १७ नम्बर गण (चितवन) बाट विपद् व्यवस्थापन तालिम प्राप्त ११ जनासहित ३५ जनाको सुरक्षा फौज खोजी परिचालन गरिएको छ।
साथै नेपाली सेना र नेपाल प्रहरी पनि खोजीमा जुटेका छन्।
काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको बस र वीरगन्जबाट काठमाडौँ आउँ गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस शुक्रबार बिहान भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोसँगै त्रिशूलीमा खसेर बेपत्ता छन्।
काठमाडौँबाट गौर जाँदै गरेको बसमा २७ तथा वीरगन्जबाट काठामाडौँतर्फ आउँदै गरेको बसमा २४ यात्रु रहेको स्थानीय प्रशासनले जनाएको छ।
उक्त दुर्घटनामा परेका ३ यात्रु भने पौडी खेलेर बाँच्न सफल भएका छन्।