काठमाडौँ, १३ साउन । पूर्व अर्थमन्त्री जनार्दन शर्माबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले सीसीटीभी जडान तथा सञ्चालन निर्देशिकाको अनिवार्य पालना गर्न सरकारी निकायलाई सुझाव दिएको छ ।
‘सीसीटीभी जडान तथा सञ्चालन निर्देशिकालाई अर्थ मन्त्रालय र गृह मन्त्रालय समेतले पूर्णरूपमा पालना नगरेको देखिएकाले सीसीटीभी जडान गर्ने सम्पूर्ण सरकारी निकायले अनिवार्य रूपमा पालना गर्नुपर्दछ,’ प्रतिवेदनमा लेखिएको छ ।
यस्तै सिंहदरबार परिसरभित्र प्रवेश गर्ने र बाहिर निस्किने व्यक्तिको व्यवस्थित अभिलेख राख्ने पद्धतिको विकास गर्न, सबै निकायमा सीसीटीभी प्रणाली व्यवस्थित गर्न र सिंहदरबार परिसरको समग्र सुरक्षा प्रणालीलाई व्यवस्थित गर्न छुट्टै अध्ययन गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।
छानबिनको क्रममा अर्थ मन्त्रालयले संसद र संसदीय समितिले माग गरेका कागजात प्रमाणहरु र गरिएका पत्राचारको जवाफ र विवरण उपलब्ध गराउने सिलसिलामा विषयको गाम्भीर्यतालाई ध्यान नदिइ हलुका ढङ्गले व्यवहार गरेको महसुस गरेको भन्दै समितिले अर्थ मन्त्रालयका जिम्मेवार अधिकारीहरूले आफ्नो जिम्मेवारी र जवाफदेही सही रूपमा बहन गर्न सुझाव दिइएको छ ।







