अमेरिका, २८ कार्तिक । अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ समकक्षी सी जिनपिङसँगको उच्चस्तरीय वार्तामा दुई देशबीच बढिरहेको विवादको बिन्दु पत्ता लगाउने बताएका छन् । भोलिदेखि इन्डोनेसियामा हुने जी-२० शिखर सम्मेलनका क्रममा दुई शक्ति देशका राष्ट्रपतिबीच भेट हुन लागेको हो ।
बाइडेन र सी बीच पहिलो प्रत्यक्ष भेट हुन लागेको हो । अमेरिकामा केही दिनअघि भएको मध्यावधि चुनावमा बाइडेनको पार्टी डेमोक्र्याटले अनपेक्षित सफलता हासिल गरेको छ भने तेस्रो कार्यकाल चीनको राष्ट्रपति सम्हाल्नुभएका सी देशमा थप शक्ति सम्पन्न बनेका छन् ।
अहिले शक्तिशाली देशहरु अमेरिका र चीनबीच अन्तर्राष्ट्रिय व्यवस्थाप्रति फरक मत रहँदै आएको छ । विश्वका दुई ठूला अर्थतन्त्र भएका देशबीच व्यापार, मानव अधिकार तथा ताइवान रुस-युक्रेन मामिलामा विवाद रहेको छ ।
जी-२० सम्मेलनमा जानुअघि एसियाली नेताहरूसँग भेट गर्नुभएका अमेरिकी राष्ट्रपति बाइडेनले पत्रकारहरुसँग कुरा गर्दै आफूहरुबीच निकै थोरै मात्र मतभिन्नता रहेको भन्दै विवादका बिन्दु पत्ता लगाउने बताए ।
उत्तर कोरियाले छिट्टै सातौँ पटक आणविक परीक्षण गर्ने अनुमानबीच बाइडेनले चीनलाई उत्तर कोरियामाथि नियन्त्रणका लागि आग्रह गर्ने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।







