Logo

सुकुम्बासीका विषयमा ‘प्रक्रिया पूरा गरेर’ अघि बढ्न बालेनलाई सुझाव



काठमाडौँ, १५ मंसिर । काठमाडौँ महानगरपालिकाले मङ्सिर १२ गते थापाथलीस्थित सुकुम्बासी बस्तीमा रहेका ‘अनधिकृत संरचना’ हटाउने क्रममा नगर प्रहरीसँग झडप भएयता सुकुम्बासी समस्याबारे मानिसहरूका विभाजित मतहरू देखा परेका छन् ।

त्यसकै पृष्ठभूमिमा बुधवार महानगर प्रमुख बालेन्द्र शाहले वडाध्यक्षहरूसँग बैठक गर्दा उनीहरूले शाहलाई ‘सम्पूर्ण प्रक्रियाहरू पूरा गरेर मात्र अघि बढ्न सुझाव दिएको’ थापाथली समेत पर्ने वडा नम्बर ११ का वडाध्यक्ष हिरालाल तण्डुकारले बताए ।

‘तत्काललाई यो काम रोक्ने कुरा भएको छ । सबै कुरा राम्ररी तयारी गरेर छिट्टै अगाडि बढाउने भन्ने छ,’ तण्डुकारले भने ।

‘यस बीचमा मेयरले गृह मन्त्रालयसँग समेत कुरा गर्नुभएको छ । प्रक्रिया पूरा गर्दाको हकमा हामी सबैको समर्थन रहन्छ ।’

अधिकार सम्पन्न वाग्मती सभ्यता विकास समितिको आग्रहमा नदी किनारमा सार्वजनिक जग्गामा रहेका संरचना हटाउन खोजेको महानगरपालिकाले जनाएको थियो । त्यस क्रममा समय दिएरै सार्वजनिक सूचना जारी गरेको महानगरले जनाएको थियो ।

तर यति नै बेला कतिपय सरकारी अधिकारीहरूले उनीहरूको ‘संवैधानिक हक’ कुल्चिएको सवाल उठाएका छन् । शाहले सार्वजनिक टिप्पणी र उच्च भेटघाटमार्फत् आफ्नो दृढता प्रस्तुत गरिरहँदा सामाजिक सञ्जालमा समेत यसबारे मानिसहरूका विभाजित मत देखिन्छन् ।

प्रतिक्रिया दिनुहोस्