काठमाडौँ, ३२ असार । काठमाडौँको वाग्मती, विष्णुमती, मनोहरा, गोदावरी लगायत नदी तथा खोला किनारमा थुप्रै सुकुम्वासीहरु टहरा बनाएर बसेका छन् । यसरी टहरा बनाएर बस्ने घरबारविहीनहरुको व्यथा अनेक छन् ।
विशेषत वर्षायाममा बाढी आउँदा सुकुम्वासीहरु रातभर अनिदो बस्छन् । अहिले वर्षायाम छ । प्राय: नदी र खोलामा बाढी आइरहन्छ ।
नदी छेउमा भएकै कारण कहिले बस्तीमा बाढी पस्छ पत्तै हुँदैन । वर्षायाम अरु समयभन्दा चिन्ताको विषय बन्छ, सुकुम्वासीहरुलाई । अनि, हिउँदमा ढल गन्हाएर बसी साध्यै हुँदैन । सरकारले ढल, फोहर लगायत बस्ती व्यवस्थापन गर्न नसक्दा झनै समस्या भएको छ ।
तटीय क्षेत्रमा पर्खाल लगाउन पनि बस्ती व्यवस्थित नगरि सहज छैन । सुकुम्वासी बस्ती छेउका सडकहरु हिलाम्मे छन् । वरपर वन, बुट्यान र झाडी रहेकाले सर्प लगायतको त्रास पनि त्यत्तिकै छ ।
सरकारले सुकुम्वासी र अव्यवस्थित बसोबास गर्नेहरुको व्यवस्थापनका लागि आयोग नै बनाएको छ । तर, उनीहरु उचित र दीर्घकालीन व्यवस्थापन भने हुन सकेको छैन । उनीहरु सधैँ आफू बसिरहेको ठाउँ छोडेर कहिले हिँड्नुपर्ने हो भन्ने चिन्तामा रहने गर्छन् ।
तस्बिर : न्युज एजेन्सी नेपाल












