काठमाडौँ, २९ मंसिर । सहरी विकासमन्त्री मेटमणि चौधरीले काठमाडौँ उपत्यकाभित्र देखिएका सुकुम्वासी समस्या समाधान गर्न सबै पक्षको सहयोग र सहमति आवश्यक रहेको बताएका छन् ।
काठमाडौँ सहरको सौन्दर्यमा प्रतिकूल असर पार्ने फोहरमैलाको व्यवस्थापन तथा नदी किनारामा रहेका सुकुम्वासी बस्तीको व्यवस्थापन कार्य चूनौतीपूर्ण रहेको उल्लेख गर्दै मन्त्री चौधरीले त्यसको समाधानका लागि सबै पक्षको सहयोग र सहमति आवश्यक रहेको बताए ।
२८ औँ महानगर दिवसको अवसरमा बिहीवार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले काठमाडौँलाई व्यवस्थित, सफा र सुन्दर सहर निर्माण गर्नका लागि आवश्यक पूर्वाधारको विकास गर्न योजनाबद्ध कार्यहरू सञ्चालन गर्न ढिलाइ गर्न नहुने बताएका हुन् ।
महानगरपालिकालाई बसोबासयोग्य, प्रदूषणरहित वातावरणमैत्री बनाइ महानगरवासीको आधारभूत आवश्यकता परिपूर्ति गर्न महानगरकाले खेल्दै आएको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै मन्त्री चौधरीले यस काममा नेपाल सरकारले पनि सक्दो सहयोग गरिरहेको र त्यसलाई निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।







