काठमाडौँ, ३० जेठ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरोकारवाला सङ्घ-संस्था र विज्ञहरूको सुझावका आधारमा ‘साइबर सुरक्षासम्बन्धी विधेयक’ लाई पूर्णता दिने बताएका छन् ।
नेपाल दूरसञ्चार प्राधिकरणद्वारा आज आयोजित साइबर सुरक्षासम्बन्धी विधेयकको मस्यौदा उपर छलफल कार्यक्रममा सरकार प्रवक्ता कार्कीले सरोकारवाला सङ्घ/संस्था र विज्ञहरूको सल्लाह र सुझावका आधारमा मात्रै विधेयकलाई व्यवस्थित, समयानुकूल र गतिशीत विधेयक बनाउने बनाउँदै सकारात्मक सुझावको अपेक्षा गरेका छन् ।
“अहिले बम, बारुद, बन्दुकद्वारा प्रभाव जमाउने होइन, साइबरमाथि आक्रमण गरेर प्रभाव जमाउने प्रविधिको विकास भइरहेको छ, त्यसैले हामीले हाम्रो प्रविधिलाई कसरी विकास गरेर लिएर जाने भन्ने बारेमा छलफल हुन जरुरी छ,” मन्त्री कार्कीले भने । उनले सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा भएको तीव्र गतिको विकासले संसारलाई सानो गाउँमा रुपान्तरण गरिसकेको बताउँदै अब देशलाई त्यसतर्फ रुपान्तरित गरी लाभान्वित हुनुपर्नेमा जोड दिए ।
साइबर सुरक्षा बिना हामी आफूले आफूलाई सुरक्षित गर्न नसक्ने बताउँदै उनले सूचना सञ्चार प्रविधिको विकाससँगै हुने विकृतिलाई रोक्नका लागि पनि छलफल आवश्यक रहेको बताए ।







