सुडान, ४ वैशाख । सुडानको राजधानी खार्तूममा सेना र अर्धसैनिक बलबीच सोमबार तेस्रो दिन पनि झडप हुँदा मृत्यु हुनेको सङ्ख्या १०० पुगेको छ ।
सन् २०२१ मा भएको ‘कू’ मा सत्ता कब्जा गरेका दुई जनरल, सुडानका सेना प्रमुख अब्देल फतह अल बुरहान र शक्तिशाली अर्धसैनिक रेपिड सपोर्ट फोर्सेज (आरएसएफ) को कमाण्ड सम्हालिरहेका उनका सहयोगी मोहम्मद हमदान डग्लोबीच हप्तौंदेखि चलेको शक्ति सङ्घर्षपछि शनिबारदेखि हिंसा सुरु भएको हो ।
खार्तूम र सुडानका अन्य शहरहरूमा हवाई आक्रमण, सडकमा ट्यांकहरू, तोपखानाको गोलाबारी र भारी गोलीबारीसहित भएको भीषण द्वन्द्वले तत्काल युद्धविरामको लागि अन्तर्राष्ट्रिय मागहरू उठाएको छ ।
सुडानका चिकित्सकहरूको केन्द्रीय समिति, एक अलग लोकतन्त्र समर्थक सङ्गठनले शनिबारदेखि सुरक्षा बलहरूमा दर्जनौंको मृत्यु भएको र नागरिक र सेनासहित लगभग ९४२ जना घाइते भएको जनाएको छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले खार्तूमका नौ वटा अस्पतालमध्ये केहीमा रगत, रक्तसञ्चार उपकरण र अन्य अत्यावश्यक सामग्रीको अभाव भएको भन्दै चेतावनी दिएको छ ।