काठमाडौँ, ३ वैशाख । सुडानमा शनिवारदेखि चलिरहेको लडाइँमा परि अहिलेसम्म ५६ जनाको ज्यान गएको छ ।
सेना र अर्धसैनिक बल (आरएसएफ) बीच भएको लडाइँमा अरू छ सय जना घाइते भएका बीबीसी हिन्दीले जनाएको छ ।
राजधानी खार्तुममा राष्ट्रपतिको कार्यालय, सरकारी टेलिभिजन र सेनाको मुख्यालयमा आक्रमण भएको छ । डार्फर क्षेत्र लगायतमा पनि लडाइँ चलिरहेको छ । राजधानी खार्तुम सहरको आकाश धुवाँले भरिएको छ । सुडानको सेनाले नागरिकलाई घरभित्रै बस्न आह्वान गरेको छ ।
सुडानमा नागरिक शासनबारेको प्रस्तावित सङ्क्रमणको अवस्थाको विषयमा विवाद रहेको छ । सन् २०२१ को अक्टोबरमा भएको एउटा विद्रोहपछि सुडानमा सैन्य जनरलहरूले सार्वभौम परिषद् भनिने संयन्त्र बनाएर राज्य सञ्चालन गर्दै आएका छन् ।
नागरिक नेतृत्वको सरकारको प्रस्तावमा आरएसएफलाई राष्ट्रिय सेनामा समायोजन गर्ने तालिका बनाएको छ । आरएसएफले समायोजन १० वर्षपछि गर्न चाहे पनि सेनाले दुई वर्षभित्र सक्नुपर्नेमा जोड दिएपछि तनाव बढेको बीबीसीले जनाएको छ । प्रस्तावित नागरिक सरकारमा एकीकृत सेनाको नेतृत्व कसले गर्ने भन्ने कुरामा पनि सेना र आरएसएफबीच विवाद छ ।