Logo

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै



कञ्चनपुर, २१ फागुन । सुदूरपश्चिम सरकारले आज विश्वासको मत लिँदै छ ।

आइतबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिन लागेका हुन् ।

केन्द्रमा नयाँ समीकरण बनेसँगै उत्साहित मुख्यमन्त्री कमलबहादुर शाहले छलफलविनै विश्वासको मत लिने निर्णय गरेका हुन् । फागुन २५ सम्म मत लिन सक्ने संवैधानिक व्यवस्था भए पनि हतारमा विश्वासको मत लिन खोज्नुलाई संशयका रूपमा हेरिएको छ ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा मुख्यमन्त्रीलाई विश्वासको मत पाउन कम्तिमा २७ सांसद आवश्यक पर्छ । कांग्रेसका १९ सहित नेकपा एकीकृत समाजवादीका ४ र स्वतन्त्र १ सांसद गरी २४ जनाको साथ पाएर मुख्यमन्त्री नियुक्त भएका शाहलाई मत पाउन सहज छैन ।

मत पाउने अपेक्षासहित नागरिक उन्मुक्ति पार्टीलाई फकाउँदै आएका शाह संघमा राजनीतिक समीकरण फेरबदल भएसँगै पद सुरक्षित हुनेमा ढुक्क थिए । शाहले आश गरेका नागरिक उन्मुक्ति पार्टीले मत नै नदिने बताइसकेको छ भने माओवादी केन्द्रले पनि यथास्थितिमा मत नहाल्ने बताएको छ । तर, शाह विश्वासको मत पाउनेमा विश्वस्त छन् ।

७ सांसद रहेको नागरिक उन्मुक्ति पार्टीले लिखित सम्झौता नभएसम्म विश्वासको मत नदिने बताएको छ । अध्यक्ष रञ्जिता श्रेष्ठले सम्झौताबिना मत नदिने घोषणा नै गरेकी छन् ।

माओवादी केन्द्रले शनिबार बसेको संसदीय दलको बैठकबाट संवादको वातावरण नबनाएको र मुख्यमन्त्रीमा आलोपालोको विषयमा कुनै कुराकानी नभएको भन्दै यथास्थितिमा विश्वासको मत दिन नसक्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्