Logo

सुदूरपश्चिममा एक हजार छ सयमा डेङ्गु सङ्क्रमण, तीन जनाको मृत्यु



कैलाली, १७ साउन । सुदूरपश्चिम प्रदेशमा डेङ्गुबाट एक हजार छ सय बढीमा सङ्क्रमण भएको छ ।

सन् २०२२ र २०२३ मा गरेर एक हजार छ सय १४ जनामा सङ्क्रमण पुष्टि भइसकेको स्वास्थ्य निर्देशनालय सुदूरपश्चिम प्रदेशले जनाएको छ ।

यस प्रदेशमा सन् २०२३ को सुरुआतदेखि हालसम्म तीन सय २५ जनामा सङ्क्रमण देखिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका कीटजन्य रोग नियन्त्रण सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए ।

उनका अनुसार सबैभन्दा बढी पहाडी जिल्ला दार्चुलामा एक सय ९१ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । यस्तै कञ्चनपुरमा ५७, अछाममा ३१, कैलालीमा २४, बझाङमा छ, बैतडीमा पाँच, डोटीमा पाँच, बाजुरामा चार र डडेल्धुरामा दुई जनामा सङ्क्रमण देखिएको हो । सङ्क्रमणका कारण यस वर्ष मृत्यु भने शून्य छ ।

यसअघि गत वर्ष यस प्रदेशमा एक हजार दुई सय ८९ जनामा सङ्क्रमण देखिएकामा तीन जनाको मृत्यु भएको थियो । लामखुट्टेको टोकाइबाट हुने डेङ्गु गर्मी र वर्षात्को समयमा हुने भएकाले बिरामीको सङ्ख्या बढ्दै गएको जोशीले बताए । उनले भने, “गर्मी र वर्षात्मा सङ्क्रमण बढी देखिने गरेको छ, असोजसम्म बढी जोखिम हुन्छ ।”

जोखिम कम गर्न निर्देशनालयले प्राविधिक सहजीकरण, कीट आपूर्ति र बिरामी व्यवस्थापनमा सहयोग गर्ने गरेको छ । स्थानीय तहहरूले उक्त रोग नियन्त्रणका लागि ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरिरहेका जोशीले बताए ।

तराईका जिल्लामा बढी हुने डेङ्गु सङ्क्रमण पछिल्लो समय पहाडमा पनि फैलिँदै गएको छ । निर्देशनालयको तथ्याङ्कले पहाडी जिल्लामा पनि डेङ्गुको जोखिम बढेको देखिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।

तराईबाट लामखुट्टे पहाड उक्लिएकाले पहाडमा पनि जोखिम बढेको छ । उनले भने, “लामखुट्टे पहाडमा पनि देखिन थालेपछि पहाडी जिल्लामा पनि सङ्क्रमण बढ्दै गएको छ, पहाडी जिल्लामा पनि सङ्क्रमितलाई अस्पताल भर्ना गरेर उपचार गर्नुपर्ने अवस्था छ ।”

प्रतिक्रिया दिनुहोस्