Logo

सुदूरपश्चिममा चार दिनभित्र चार सयभन्दा बढी परकम्प



डोटी, २७ कात्तिक । गएको मङ्गलवार राति डोटीमा भूकम्प गएपछि सुदूरपश्चिम प्रदेशमा लगातारजसो परकम्प गइरहेको छ ।

मङ्गलवार राति डोटीमा तीन पटक भूूकम्प गएको थियो । राति ९ बजेर ७ मिनेटमा ५ दशमलव ७ रेक्टर स्केलको, ९ बजेर ५६ मिनेटमा ४ दशमलव १ र राति २ बजेर १२ मिनेटमा ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएपछि अहिलेसम्म चारसय वटाभन्दा बढी परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले जानकारी दिए ।

शनिवार बेलुकी मात्रै बझाङमा ५ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो । भट्टराईका अनुसार नेपाल भूकम्पको जोखिमयुक्त क्षेत्रमा पर्छ । त्यसमा पनि पश्चिमी क्षेत्रमा लामो समयदेखि ठूलो भूकम्प नगएकाले जोखिम धेरै छ ।

विक्रम सम्वत् १५०५ सालमा पश्चिमी क्षेत्रमा ठूलो भूकम्प गएको विभिन्न अध्ययनले देखाएका छन् । तर, त्यतिबेला मापन सुरु भइनसकेकाले कति रेक्टर स्केलको भूकम्प गएको थियो भन्ने यकिन भने छैन । त्यसपछि पश्चिमी क्षेत्रमा ठूलो भूकम्प नगएकाले पनि त्यहाँ भूकम्पीय जोखिम धेरै रहेको हुन सक्ने भूकम्पविद् भट्टराईले बताए । विभिन्न अध्ययन अनुसन्धानले पनि पश्चिमी क्षेत्रमा ठूलो भूकम्पको सम्भावना रहेको देखाएकाले सचेत हुनु पर्नेमा उनको जोड छ ।

‘भूकम्पको कुनै पूर्वानुमान हुँदैन । तर, पनि पश्चिमी क्षेत्रमा जमिनमुनि शक्ति सञ्चय भइरहेकाले जोखिम धेरै छ’-उनले भने । भूकम्पविद् मुकुन्द भट्टराईका अनुसार पश्चिमी क्षेत्रमा थुप्रिएको शक्ति अहिले गइरहेको स-साना भूकम्प वा परकम्प पछि तितरबितर पनि हुनसक्छ र नहुन पनि सक्छ, दुवै सम्भावना छ । त्यसैले जोखिम उच्च नै रहेकाले त्यस क्षेत्रका स्थानीय बासिन्दाले विशेष सावधानी अपनाउनु आवश्यक छ । डोटीमा ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प पछि सुदूरपश्चिमका कतिपय घर चर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्