बैतडी, १४ साउन । भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय नाघेको छ ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शुक्रबार थप १९ जनामा सङ्क्रमण देखिएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय नाघेको हो ।
हाल यो प्रदेशमा सक्रिय सङ्क्रमित एक सय १६ रहेका छन् । जसमा सबैभन्दा बढी कैलालीमा ७५, कञ्चनपुरमा ३५ र बैतडीमा छ जना सक्रिय सङ्क्रमित रहेका सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
कुनै बेला शून्यमा झरेको कोरोना सङ्क्रमणदर हाल बढ्दै गएसँगै जोखिम बढेको हो । सीमा जोडिएको प्रदेश भएकाले भारतमा सङ्क्रमणदर बढ्दै गएकाले त्यसको प्रभाव सुदूरपश्चिममा पनि देखिन थालेको निर्देशनालयका कोभिड-१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए ।
गत असार ३२ गते शून्यमा झरेको सङ्क्रमणदर त्यसयता बढ्दै गएको छ । उनले भने, “भारतमा कोरोना सङ्क्रमण बढ्दै गएकाले सीमा जोडिएको प्रदेश सुदूरपश्चिममा पनि देखिन थालेको छ । जोखिम बढ्दै गएकाले सतर्कता अपनाउन थालिएको छ ।”