Logo

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री रावलले विश्वासको मत लिँदै



कञ्चनपुर, २४ माघ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज मुख्यमन्त्री पदको विश्वासको मत लिँदै छन् ।

संविधानको धारा १६८ को उपधारा (२) अनुसार गएको पुष २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका रावलले आज विश्वासको मत लिन लागेका हुन् ।

संवैधानिक व्यवस्था अनुसार उनले नियुक्त भएको ३० दिन अर्थात् भोलिसम्ममा विश्वासको मत लिइसक्नुपर्छ ।

आज मुख्यमन्त्रीले विश्वासको मत लिन बिहान ११ बजे प्रदेशसभाको बैठक बोलाएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने अडान कायमै राखेका कारण मुख्यमन्त्री रावललाई समस्या रहेको छ ।

रेशम चौधरीको मुद्दामा सर्वोच्च अदालतले प्रत्यार्थी झिकाउने आदेश गरेसँगै नागरिक उन्मुक्ति पार्टीले आफूलाई विश्वासको मत दिने मुख्यमन्त्री रावलको विश्वास रहेको भएपनि नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने अडान कायमै राखेको छ ।

५३ सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि २७ जना सांसदको समर्थन आवश्यक पर्छ । नागरिक उन्मुक्तिले विश्वासको मत नदिँदा मुख्यमन्त्री रावल अल्पमतमा पर्ने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस्