Logo

सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमणदर बढ्दै



बैतडी, ४ साउन । भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमणदर बढ्दै गएको छ । यहाँ हाल दिनहुँ कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ ।

गत शनिबार अर्थात् असार ३२ गते शून्यमा झरेको सङ्क्रमण मङ्गलबारमात्रै यस प्रदेशमा नौ जनामा सङ्क्रमण देखिएको छ ।

स्वास्थ्य निर्देशनालयको तथ्याङ्कानुसार गत शनिबार कोरोना सङ्क्रमण शून्य रहेकामा आइतबार तीन, सोमबार सात र मङ्गलबार नौ जनामा सङ्क्रमण देखिएको हो ।

सङ्क्रमण भारतबाट नेपाल भित्रिरहेका व्यक्तिमा देखिएको छ । मङ्गलबार गड्डाचौकी नाकामा सात र गौरीफन्टा नाकामा दुई जनामा सङ्क्रमण देखिएको निर्देशनालयले जनाएको छ ।

जोखिम बढ्दै गएकाले सतर्कता अपनाइएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड-१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए । जोखिम बढेकाले कायमै रहेकाले यहाँका भारतसँग सीमा जोडिएका सबै नाकामा स्वास्थ्य जाँचमा कडाइ गरिएको छ । पूर्वनिर्धारित कार्यक्रमअनुसार नै सीमा क्षेत्रको जोखिम व्यवस्थापनको काम भइरहेको हो । उनले भने, “सीमानाकामा हेल्थ डेस्क स्थापना गरेर आवश्यक जनशक्ति परिचालन गरेर परीक्षण र खोपको काम निरन्तररूपमा भइरहेको छ ।”

यसका साथै कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि कोरोनाविरुद्धको खोप अभियानलाई प्राथमिकतामा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्