Logo

सुनकोशी नदीमा बेपत्ता कर्मचारी अझै भेटिनन्



काठमाडौँ, २३ जेठ । सुनकोशी नदीमा जीपसहित खसेर बेपत्ता भएका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभिटी) का कर्मचारीहरु अझै भेटिएका छैनन् ।

दुर्घटना भएको पाँचौँ दिन बित्नै लागिसक्दासमेत अझैसम्म उनीहरुलाई भेट्टाउन सकिएको छैन ।

सीटीईभिटीका दुई निर्देशक र अधिकृत चढेको बा १ झ ७४६७ नंको जीप गएकाे शुक्रवार दिउँसो मध्यपहाडी लोकमार्गको खुर्कोट-घुर्मी खण्डअन्तर्गत गोलन्जोर गाउँपालिका-७ को लौकुनबाट सुनकोशी नदीमा खसेको थियो ।

भक्तपुरबाट खोटाङका लागि छुटेकाे सीटीईभिटीको जीपमा प्रशासन शाखाका निर्देशक तनहुँको भानु-९ का ५७ वर्षीय कृष्ण केसी, पूर्वी नवलपरासीको प्रगति-७ घर भएका योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल र इलामका ३२ वर्षीय विद्युत् प्राविधिक भानु पौडेल रहेका छन् । उनीहरू सबै बेपत्ता छन् । चालक कृष्ण चौधरी घाइते अवस्थामा आफैँ पौडिएर निस्किएका थिए ।

खोजी जारी भए पनि अहिलेसम्म बेपत्ता व्यक्ति र गाडी भेटिएको छैन । सशस्त्र प्रहरी, सेनाको गोताखोर र जनपथ प्रहरीको विपद् व्यवस्थानसमेत चारवटा टोलीले शुक्रवारदेखि खोजी निरन्तर गरिरहेको छ ।

एकातर्फ पानीको बहावलाई फर्काउने काम भइरहेको छ भने अर्कोतर्फ गोताखोरहरुले चुम्बक समेत प्रयोग गरी गहिराइमा पुगेर खोजी गरिरहेका छन् । बेपत्ताहरूको खोजी गर्ने काममा जुटेको टोलीले पाँचौँ दिन आज पनि प्रयास जारी राखेको छ ।

प्रतिक्रिया दिनुहोस्