काठमाडौँ, २८ असोज । सुनकोसी-मरिन डाइभर्सन बहुउद्देशीय आयोजनाको सुरुङ खन्ने काम सुरु भएको छ ।
अटोमेटिक टनेल बोरिङ मेशिन (टीबीएम)बाट सुरुङ खन्ने काम सुरु भएको आयोजना प्रमुख मित्र बरालले जानकारी दिए ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सुनकोसी-मरिन डाइभर्सनको १३ दशमलव तीन किलोमिटर सुरुङ आउँदो २२ महिनामा खनिसक्ने लक्ष्य राखिएको छ । भौगर्भिकरूपमा कुनै समस्या नआए समय तालिकाभित्रै सुरुङ खन्ने काम सकिने आयोजना प्रमुख बरालले बताए । आयोजनाका लागि सरकारले चालु आर्थिक वर्षमा दुई अर्ब ७० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आयोजनाको २०७७ फागुन २० गते शिलान्यास भएको थियो ।
सुनकोसी गाउँपालिका वडा नम्बर ७ कानढुङ्ग्रीमा सिन्धुली र रामेछापको सिमाना भएर बग्ने सुनकोसी नदीमा डाइभर्सनको संरचना निर्माण गरी सुनकोसीको झन्डै ६७ क्युमेक पानीलाई कमलामाई नगरपालिका वडा नम्बर २ कुसुमटारमा रहेको मरिन खोलामा खसाल्ने योजना रहेको छ ।
त्यसपछि बाग्मती सिँचाइ आयोजनाको संरचनामार्फत तराईका धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराको झन्डै एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ गर्ने लक्ष्य छ । सिँचाइसँगै ३१ दशमलव ०७ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गरिनेछ । आयोजनाको सुरुङ निर्माणका लागि चीनको चाइना ओभरसिज इन्जिनियरिङ ग्रुपसँग सम्झौता भएको छ ।






