Logo

सुनसरीको देवानगञ्जमा कर्फ्यु जारी, गोली लागेर एक जनाको मृत्यु भएपछि सुरक्षा व्यवस्था कडा



सुनसरी, ११ साउन । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समूहबीच भएको हिंसात्मक झडपका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि स्थानीय प्रशासनले पाँच बजार क्षेत्रमा अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले हरिनगरा, भुटाहा, कप्तानगञ्ज, घुस्की र देवानगञ्ज बजार क्षेत्रमा सोमबार बिहान ७ बजेदेखि कर्फ्यु लागू गरिएको जानकारी दिएका छन्। कर्फ्यु अवधिमा हिँडडुल, भेला, जुलुस तथा सभा–सम्मेलन गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ।

आइतबार राति दुई समूहबीच भएको विवाद हिंसात्मक बनेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो। घटनामा देवानगञ्ज गाउँपालिका–३ का २४ वर्षीय ओमप्रकाश मेहताको गोली लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। गोली लागेर आठ जना प्रदर्शनकारी घाइते भएका छन्, जसमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ।

घटनापछि थप अप्रिय अवस्था हुन नदिन स्थानीय प्रशासनले हरिनगर गाउँपालिका र देवानगञ्ज गाउँपालिका क्षेत्रमा निषेधाज्ञासमेत जारी गरेको छ। कर्फ्यु प्रभावित क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।

प्रारम्भिक जानकारीअनुसार साउने सोमबारको बोलबम यात्राका लागि डिजे बजाउँदै सप्तकोशी नदीतर्फ जान लागेको युवाहरूको समूह र स्थानीय अर्को समूहबीच रातिको समयमा होहल्लाको विषयलाई लिएर विवाद सुरु भएको थियो। सोही विवाद झडपमा परिणत भएपछि प्रहरीले बल प्रयोग गर्दै स्थिति नियन्त्रणमा लिएको जनाएको छ।

जिल्ला प्रशासन कार्यालयले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्