Logo

सुनसरीमा निर्माणाधीन घरको सेप्टिक ट्यांकीभित्र ठेकेदार र कामदार मृत भेटिए



सुनसरी, २८ साउन । सुनसरीको दुहबी नगरपालिका-४ शिव मन्दिर चोकस्थित निर्माणाधीन घरको सेप्टिक ट्यांकीभित्र बुधबार दुई पुरुष मृत फेला परेका छन्।

माेरङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, डीएसपी याेगराज खतिवडाका अनुसार सोही नगरपालिकाका वडा नम्बर २ बस्ने ५० वर्षीय श्याम बहादुर तामाङ र ३२ वर्षीय रमेश राई सेप्टिकट्यांकीभित्र मृत भेटिएका हुन्।

तामाङ उक्त घर निर्माणका पेटी ठेकेदार र राई कामदार भएको प्रहरीले जनाएको छ।

बिहान करिब १० बजे चन्द्रिका रौनियारको बन्दै गरेको नयाँ घरको सेप्टिक ट्यांकीभित्र उनीहरू मृत भेटिएको खबर प्राप्त भएपछि प्रहरी निरीक्षक सागर तिमिल्सिनाको कमान्डमा टोली घटनास्थल पुगेको थियो।

घटनाका विषयमा प्रारम्भिक अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्