काठमाडौं, १ माघ । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–९ सोनयाहीमा मंगलबार ट्रक दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ। विराटनगरबाट मार्बल बोकेर हुलाकी राजमार्ग हुँदै राजविराजतर्फ जाँदै गरेको को १ ख ४५४१ नम्बरको ट्रक अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार दुर्घटनामा बर्जु गाउँपालिका–१ का ३२ वर्षीय धीरेन्द्र गुरुङ, ५५ वर्षीय ब्रहमदेव गुरुङ, ५० वर्षीय टङ्क गुरुङ, २८ वर्षीय निसु गुरुङ र ५५ वर्षीय चन्द्र गुरुङको घटनास्थलमै मृत्यु भएको हो। ट्रक पल्टिँदा लोड गरिएको मार्बलमुनि कामदारहरू किचिएका थिए।
यस दुर्घटनामा सुन्दर गुरुङ, बैजनाथ गुरुङ र मानबहादुर गुरुङ घाइते भएका छन्। उनीहरूको उपचारका लागि विराटनगरस्थित विराट टिचिङ अस्पताल लगिएको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको र मृतकका शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवामा राखिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ।
कनकाईमा पिकअप र बस कोक्किदा आमा छोराको मृत्यु
झापाको कनकाई नगरपालिका–३ नयाँ बस्तिमा भएको सवारी दुर्घटनामा आमा छोराको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । पूर्व–पश्चिम लोकमार्गमा बिर्तामोडबाट माईधारतर्फ जाँदै गरेको मे १ च ४५१५ नम्बर को पिकअप (मालबाहक) गाडी र माईधारबाट बिर्तामोडतर्फ आउँदै गरेको ना ५ ख २१४९ नम्बरको बस एक आपसमा ठोक्किएका थिए । आज बिहान ९ः३० बजेको समयमा दुर्घटना भएको थियो ।
दुर्घटनामा भद्रपुरका आफुद राजवंशीका श्रीमती र छोराको मृत्यु भएको छ । १.५ बर्षीय आरुति राजवंशीको अस्पताल ल्याई पुर्याउना साथ डक्टरले चेकजाँच गर्दा १०ः१५ बजेको समयमा मृत्यु घोषणा गरेको थिए । बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा बालकको मृत्यु भएको थियो । यसैगरी उपचारकै क्रममा बिर्तासिटी अस्पतालमा आमा ४० बर्षीया सुस्मा राजवंशीको पनि ११ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा पिकअप गाडीमा सवार मानिसहरु घाईते भई उपचारको लागि अस्पतालहरुमामा लगेर उपचार भईरहेको छ ।







