झापा, २४ साउन । सुनसरीको इटहरी उपमहानगरपालिका–२० को इटहरी–धरान सडकखण्डस्थित पानीपिया जङ्गलमा आज स्कुटर र बस एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
इटहरीबाट धरानतर्फ आउँदै गरेको प्रदेश १–०२–००२ ख ०४५५ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको को २२ प २१२५ नम्बरको स्कुटर ठोक्किँदा स्कुटर चालक विर्तामोड ५ बस्ने वर्ष अन्दाजी २६ का सुजन बि.क. र पछाडि सवार सोही ठाउँ बस्ने बर्ष अन्दाजी २२ का सुरज बि.क. गम्भीर घाइते भएका थिए ।
घाइते दुवैको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा दिउसो १२ः३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिनुभयो ।
बस चालक उदयपुरको बेलका नगरपालिका–३ का प्रेम मगरलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।