Logo

सुन–चाँदीको भाउ आकाशिँदै, तीन दिनमै उल्लेख्य वृद्धि



काठमाडौं, २९ पुष । स्थानीय बजारमा सुन र चाँदीको मूल्य निरन्तर उकालो लागेको छ। पछिल्लो तीन दिनको अवधिमा दुवै बहुमूल्य धातुको मूल्यमा तीव्र वृद्धि देखिएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला दुई लाख ७६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदीको मूल्य पनि बढ्दै प्रतितोला पाँच हजार ३४० रुपैयाँ पुगेको छ।

गत आइतबार प्रतितोला दुई लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भएको सुन हिजो एकै दिन चार हजार १०० रुपैयाँले बढेर दुई लाख ७४ हजार ७०० रुपैयाँ कायम भएको थियो। आज फेरि थप वृद्धि भएसँगै सुनको मूल्य नयाँ उच्च विन्दुमा पुगेको हो।

चाँदीको मूल्य पनि उस्तै गतिमा बढिरहेको छ। आइतबार प्रतितोला चार हजार ९९० रुपैयाँ रहेको चाँदीको मूल्य हिजो पाँच हजार १९५ रुपैयाँ पुगेको थियो भने आज थप वृद्धि भई पाँच हजार ३४० रुपैयाँ कायम भएको छ।

व्यवसायीहरूका अनुसार अमेरिकी डलरको उतारचढाव, विश्व बजारमा बढ्दो माग तथा अन्तर्राष्ट्रिय आर्थिक अनिश्चितताका कारण सुनचाँदीको मूल्यमा दबाब परेको हो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज विश्व बजारमा सुन प्रतिऔँस चार हजार ५८८ अमेरिकी डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस ८४ अमेरिकी डलर आसपासमा किनबेच भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्