काठमाडौँ, ११ साउन । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सय किलो सुन तस्करी उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको संलग्नता बिना हुन नसक्ने भन्दै गृहमन्त्री अनुसन्धानको दायरामा आउनुपर्ने माग राखेको छ ।
बिहीबार बसेको राष्ट्रियसभाको बैठकमा बोल्दै नेकपा एमाले राष्ट्रियसभाका दलका नेता देवेन्द्र दाहालले गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिने कुरा नभएको भन्दै अब गृहमन्त्री पनि अनुसन्धानको घेरामा आउनुपर्ने बताएका हुन् ।
उनले गृहमन्त्री, अर्थमन्त्रीलाई जानकारी नभई यति ठूलो परिणामा सुन तस्करी हुनै नसक्ने बताए । उनले सिंगो विमानस्थलको सुरक्षा व्यवस्था कस्तो छ? त्यसको जवाफ कसले दिने? भन्दै प्रश्न गरे । उनले सुरक्षा व्यवस्थामा खटिएका कर्मचारी, भन्सार कर्मचारी र गृहमन्त्री एवं अर्थमन्त्री अनुसन्धानको दायरामा आउनुपर्ने बताएका छन् ।
उनले सुन तस्करी काण्डको जरैदेखि छानबिन गर्न उच्चस्तरीय संसदीय छानबिन समिति बनाउनुपर्ने र समितिमा राष्ट्रिय सभा सदस्यहरु पनि रहनुपर्ने माग गरेका थिए ।
उनले भने, ‘यही साउन ३ गते नेपालमा ठूलो परिणाममा त्रिभुवन विमानस्थलको माध्यमबाट सुन तस्करी भएको छ । त्यसपछि पनि हाम्रो बैठक बसेको थियो । सो बैठकमा सत्ता पक्षकै र हामीले केही विषय उठाएका थियौँ । यतिबेला नेपाल सुन तस्करीको ट्रान्जिक्ट प्वाइन्ट भएको छ । जब सरकार कमजोर हुन्छ, जब राज्य स्वयं यस कुरामा संलग्न हुन्छ यो भझै मौलाएर जान्छ, यतिबेला ठिक त्यस्तै भएको छ । यस्तो गम्भीर घटना गृहमन्त्रीको संलग्नता बिना हुनसक्ला र? त्यसैले यो नैतिकताको विषय रहेन, ३ गते राजीनामा दिएको भए नैतिकताको विषय हुन्थ्यो, यो त अब सम्पूर्ण सुरक्षा र भन्सारमा रहेका कर्मचारी अनुसन्धानमा आउनुपर्छ । सुन तस्करी काण्डको जरैदेखि छानबिन गर्न उच्चस्तरीय संसदीय छानबिन समिति बनाउनुपर्छ । त्यसमा राष्ट्रियसभाका मान्यहरु पनि हुनुपर्छ ।’







