काठमाडौँ, ९ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले क्विन्टल सुन तस्करीमा गृहमन्त्रीले अरुलाई दोष दिएर उम्कन खोजेको आरोप लगाएका छन् ।
कम्बोडियाबाट गएराति स्वदेश फर्किएका ओलीले त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै गृहमन्त्री नारायाणकाजी श्रेष्ठले नै सबैको ध्यान अन्यत्रै मोड्न विभिन्न प्रपञ्च गरिरहेको आरोप लगाएका हुन् ।
विमानस्थलको सुरक्षाको जिम्मा गृहमन्त्रीको भएको भन्दै अध्यक्ष अोलीले सानोतिनो संलग्नताबाट यति ठूलो तस्करी संभव नभएकाले गृहमन्त्रीले आफ्नो संलग्नताबारे स्पष्ट पार्नुपर्ने पनि बताए ।
सुनकाण्डमा कसको संलग्नता छ भन्ने विषयमा तत्काल सत्यतथ्य बाहिर ल्याउनुपर्ने भन्दै ओलीले यस विषयलाई आफूहरुले नजिकबाट नियालिरहेको पनि बताएका हुन् ।
‘सुनकाण्डको शिलशिला अन्तिम नपुर्याइ हामी छोड्दैनौं, पहिला पनि सुन तस्करी हुने गरेको थियो । कसमाथि कारबाही हुन्छ हामी हेरिरहेका छौं ।’ ओलीले भने ।
गत साउन २ गते निर्वाचनको पर्यवेक्षण गर्नका लागि कम्बोडिया गएका ओली एक सातापछि स्वदेश फर्किएका हुन् ।







