काठमाडौँ, २३ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सुन तस्करी काण्डमा उच्चस्तरीय छानबिन समिति बनाउँदैमा सरकार नढल्ने बताएका छन् ।
प्रतिनिधिसभा बैठकमा मंगलबार बोल्दै लिङ्देनले प्रतिपक्षको मागबमोजिम समिति बनाउँदा राज्यलाई कुनै घाटा नहुने बताएका हुन् ।
‘उच्चस्तरीय छानबिन समिति बनाउँदा देशलाई के घाटा हुन्छ? सबै मन्त्री परिहाल्ने, सरकार ढलिहाल्ने हुन्छ र? लिङ्देनले भने, ‘सरकारको अनुसन्धानमा शंका छ । तपाईंहरुले गरेका कुन चाहिँ अनुसन्धान पूर्ण भएका छन्? ललिता निवास प्रकरणमा त अदालतले नै पूर्ण छैन भनिदियो नि?’
उनले प्रहरी प्रमुख, गृहमन्त्री, अर्थमन्त्रीलाई सिआइबीले प्रश्न गर्न नसक्ने बताए ।
‘सिआइबीले प्रहरी प्रमुखलाई बयान लिन सक्छ? गृहमन्त्री, अर्थमन्त्रीलाई बयान लिन सक्छ?’ उनले भने, त्यसैले उच्चस्तरीय छानबिन समिति बनाउनुस् ।’ उनले प्रतिपक्षलाई देखाएर सरकार समेत संसद चलाउन अनिच्छुक देखिएको आरोप लगाएका हुन् ।







