काठमाडौँ, १५ साउन । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुन तस्करी प्रकरणलाई अन्तिम निष्कर्षमा पुर्याउने बताएका छन् ।
प्रधानमन्त्री प्रचण्डले त्यस प्रकरणको जरैसम्म पुगेर छानबिन गर्ने र दोषी देखिएका सबैलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाएका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पार्टी पदाधिकारी बैठकमा उनले सुन प्रकरणलगायत भ्रष्टाचार प्रकरण र अनियमिततालाई अन्तिम निष्कर्षमा पुर्याउन सरकार दृढ रहेको बताए । यही साउन ३ गते राजस्व अनुसन्धान विभागले सिनामङ्गलबाट ठूलो मात्रामा सुन बरामद गरेका थियो । अहिले सरकारले त्यस सम्बन्धमा अनुसन्धान गरिरहेको छ ।
सुन प्रकरणलाई निष्कर्षमा पुर्याएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले त्यसका लागि सबैको साथ र सहयोग आवश्यक रहेको उल्लेख गरे । देश विकासको बाधकका रूपमा रहेको भ्रष्टाचार, अनियमितता, कसिमन जस्ता विषयलाई अन्तिम निष्कर्षमा पुर्याउन कुनै पनि कसर बाँकी नराखिने स्पष्ट पार्दै प्रधानमन्त्रीले निर्दोष नफस्ने र दोषीलाई उम्कन नदिने विषयमा सरकार दृढ रहेको बताएको माओवादी केन्द्रका सचिव दिनानाथ शर्माले जानकारी दिए ।







