
दाङ, ३० साउन । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महराले सुन तस्करी प्रकरणको अनुसन्धानमा सघाउन आफू तयार रहेको बताएका छन् ।
मङ्गलवार दाङमा भएको कार्यक्रममा महराले आफूलाई जाेडेर आएका विषयमा प्रष्ट पार्दै अनुसन्धानमा सघाउन तयार रहेको बताएका हुन् ।
विद्युतीय चुरोट अर्थात् भेपभित्र लुकाएर ल्याएको नाै किलो सुन तस्करी प्रकरणमा कृष्णबहादुर महरा र उनका छोराको नाम जोडिएको छ । अनुसन्धानका लागि बोलाउनुस् भनेको तर सम्बन्धित निकायबाट आफूलाई नबोलाएको महराको दाबी छ ।
‘सुन प्रकरणबारे अनुसन्धानका लागि मलाई बोलाउनुस् पनि भनेकै छु । तर बेलाउँदैनन्, म के गरुँ ?’ उनले भने । महराले सुन तस्करी प्रकरणमा नाम जोडिएका चिनियाँ व्यापारी वाङलाई १० वर्ष अघिदेखि फलफूल व्यापारीका रूपमा मात्र चिनेको पनि बताए ।
‘वाङले मेरो महत्त्वपूर्ण सामान भन्सारमा रोकियो भनेका थिए, उनले सुनको स पनि उच्चारण गरेका थिएनन्, मैले चाहिँ कानुनअनुसार छुट्नुपर्ने सामान हो भने कानुन हेरेर छाडिदिनुहोला मात्रै भएको हो, मैले सुन भन्ने थाहा पाएको थिएन’, महराले भने ।







