Logo

सुन तस्करी प्रकरण: सरकारद्वारा उच्चस्तरीय आयोग गठन



काठमाडौँ, १४ असोज । सरकारले सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा चार सदस्यीय छानबिन आयोग गठन गरेको छ ।

आयोगको सदस्यमा किशोरजङ्ग कार्की, प्रेमराज जोशी र सहकुल थापा रहेका छन् ।

आज बसेको मन्त्रिपरिषदको बैठकले तीन महिनाको समय दिएर आयोग गठन गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । “सुनको अवैध पैठारी तस्करीको नियन्त्रण गर्न सुझावसहितको प्रतिवेदन पेश गर्न जाँचबुझ आयोग गरिएको छ”, उनले भन्नि ।

आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल (नेकपा) एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफलपछि आयोग गठनको निर्णय गरिएको थियो ।

सुन तस्करी प्रकरणका सम्बन्धमा एमालेलगायतका दलले उच्चस्तरीय छानबिन आयोगको माग गर्दै आएकोमा गत भदौ ६ गते सरकार र राजनीतिक दलबीच असोज ५ सम्म उच्चस्तरीय छानबिन आयोग गठन गर्ने र सोही दिनदेखि आयोगले काम गर्ने सहमति भएको थियो ।

प्रधानमन्त्री दाहालले आज प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने कार्यक्रम छ । सो अवसरमा प्रधानमन्त्री दाहालले आयोग गठनको निर्णयबारे सदनलाई जानकारी गराउने छन् ।

प्रतिक्रिया दिनुहोस्