
काठमाडौँ, २० साउन । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्यहरूले विभिन्न भ्रष्टाचार र सुन तस्करी प्रकरणमा नाम मुछिएका पार्टीका नेताहरूमाथि अनुसन्धान गर्न माग गरेका छन् ।
चार दिनयता जारी केन्द्रीय कमिटी बैठकमा बोल्ने सदस्यहरूले विभिन्न भ्रष्टाचार र सुन तस्करी प्रकरणमा नाम जोडिएका पार्टीका नेताहरूमाथि अनुसन्धान गरी दोषी देखिए कारबाही गर्न माग गरेका हुन् ।
पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराको नाम भेपमा सुन तस्करी प्रकरणमा जोडिएको भन्दै केही नेताहरूले उनीमाथि पनि छानबिन हुनुपर्नेमा जोड दिए ।
बैठकस्थल परिसरमा केन्द्रीय सदस्य माधव सापकोटाले बैठकमा सुशासनका विषयमा गम्भीर छलफल भइरहेको बताए । नेताहरूको जीवनशैली, कार्यशैली र आम्दानीका स्रोतहरूमाथि पनि प्रश्न उठाइएको उनले जानकारी दिए ।
पार्टी उपाध्यक्ष महराको विषय मिडियामा आउनेबित्तिकै पक्राउ गर्ने कानुनी व्यवस्था नभएको उनले उल्लेख गरे । अनुसन्धानको दायरामा ल्याउनुपर्ने गरी उनीमाथि कुनै उजुरी नपरेको सापकोटाले स्पष्ट पारेका थिए ।
कोही नेताहरू यस्तो प्रकरणमा संलग्न भएको देखिएमा कारबाही गर्ने प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वचन दिएकाले त्यसमा विश्वास गर्नुपर्ने उनले बताए ।
“के स्पष्ट पारौँ भने, मिडियामा आउनेबित्तिकै मान्छे पक्राउ गर्ने हाम्रो कानुनी र संवैधानिक व्यवस्था छैन । त्यसो गर्नका निमित्त उजुर पर्नुपर्यो । उजुर नै परेर पक्राउ नपरेको या पक्राउ नगरेको, अनुसन्धानको दायरामा नल्याएको भए सरकारको कमजोरी हुन्थ्यो,” उनले भने, “ठूलो एउटा पेपरले ब्यानर न्युज बनायो भन्नेबित्तिकै मान्छे पक्राउ गर्ने हो भने त देश नै पूरै हिरासत हुने खतरा हुन्छ । यहाँ त एकले अर्कोलाई आरोप लगाउने । त्यसैले म के स्पष्ट पार्न चाहन्छु भने, पार्टीभित्र गम्भीरतापूर्वक छलफल भएको छ र हाम्रो पार्टीभित्रका पनि कोही न कोही नेताहरू यस्तो प्रकरणमा जोडिनुभएको छ भने छोड्दिनँ भनेर प्रधानमन्त्रीले, पार्टी अध्यक्षले भनिसकेको सन्दर्भमा धेरै अविश्वास, आशंका नगर्न र खासगरी क्विन्टल सुन प्रकरणलाई निष्कर्षमा पुर्याउन सबैले सहयोग गरौँ ।”
अर्का केन्द्रीय सदस्य प्रह्लाद लामिछानेले चर्चामा आएजस्तै माओवादी केन्द्रका नेताहरूको संलग्नता पुष्टि भएमा पार्टीले संरक्षण गर्न जरुरी नभएको बताए । पार्टीका नेताहरू परे पनि कारबाहीबाट पछि हट्न नहुनेमा उनले जोड दिए ।
यस्तै, केन्द्रीय सदस्य नारायणी शर्माले भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्दा पार्टीभित्रकै मान्छेहरू परे पनि छोड्न नहुने बताइन् ।
उपाध्यक्ष महराका सम्बन्धमा प्रश्न उठाइएको भन्दै उनले सम्बन्धित निकायले आफ्नो ठाउँबाट अनुसन्धान गरिरहेको उल्लेख गरिन् । सबुत-प्रमाण फेला परेका कसैलाई पनि सरकारले नबचाउने उनको भनाइ छ ।
केन्द्रीय सदस्य रामकुमार शर्माले पार्टीभित्रकै मान्छे दोषी देखिए पनि कारबाही गर्नुपर्ने बताए । सुन तस्कारी प्रकरणमा नाम जोडिएका नेताहरूले समेत आफूमाथि छानबिन गर्न बैठकमै माग गरेको उनले जानकारी गराएका थिए ।





