काठमाडौं, १३ फागुन । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत सुपर–८ चरणमा इंग्ल्यान्डले उत्कृष्ट प्रदर्शन गर्दै पाकिस्तानलाई दुई विकेटले पराजित गरेको छ। यस जितसँगै इंग्ल्यान्ड प्रतियोगिताको सेमिफाइनलमा पुग्ने पहिलो टोली बनेको छ।
१६५ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले १९ ओभर १ बलमा १६६ रन बनाउँदै रोमाञ्चक जित हात पारेको हो। इंग्ल्यान्डका लागि ह्यारी ब्रुकले ५१ बलमा शतक प्रहार गर्दै जितको आधार तयार पारे। दबाबपूर्ण अवस्थामा खेलेको उनको इनिङ निर्णायक बन्यो।
पाकिस्तानका बलरहरूले संघर्षपूर्ण प्रदर्शन गरे पनि लक्ष्य जोगाउन सकेनन्। साहिद शाह अफ्रिदीले चार विकेट लिए भने अन्य बलरहरूले पनि महत्वपूर्ण योगदान दिए।
यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले १६४ रन बनाएको थियो। साहिबजादा फरानले अर्धशतक बनाउँदा अन्य ब्याटरहरूले सानो–सानो योगदान दिएका थिए।
इंग्ल्यान्ड सुपर–८ मा एक खेल बाँकी रहँदै चार अंकसहित शीर्ष स्थानमा छ। अब उसले अन्तिम खेलमा न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। समूह ‘दुई’बाट सेमिफाइनल पुग्ने अर्को टोलीको टुंगो भने अझै लाग्न बाँकी छ।







