Logo

सुब्बालाई डिकमान बिरही स्मृति वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार



बिर्तामोड, १५ माघ ।  नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाले झापाका अग्रज पत्रकार विष्णु सुब्बालाई डिकमान बिरही स्मृति वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

झापाको दमकलाई कार्यथलो बनाएर पत्रकारितामा सक्रिय सुब्बा राष्ट्रिय समाचार समितिमा आबद्ध हुनुहुन्छ । अढाई दशकदेखि पत्रकारितामा सक्रिय सुब्बालाई २५ हजार रुपैयाँ राशिको उक्त पुरस्कार प्रदान गर्न लागिएको फोनिज झापाकी अध्यक्ष भूमिका सुब्बाले बताउनुभयो ।

पूर्व अध्यक्ष गणेशमान मुखियाको संयोजकत्वमा रहेको पुरस्कार छनोट समितिले सुब्बाको नाम सिफारिस गरेको हो । फोनिजका जिल्ला सचिव तिलक योन्जनका अनुसार थप दुईजना पत्रकारलाई फोनिज उदीयमान पत्रकारिता पुरस्कार प्रदान गरिनेछ ।

सूर्योदय टेलिभिजनमा कार्यरत पत्रकार रविकिरण बान्तवा र हरप्रहर न्युज डटकममा कार्यरत सजन राईलाई उदीयमान पत्रकारिता पुरस्कार प्रदान गर्न लागिएको सचिव योन्जनले बताउनुभयो ।

उदीयमान पत्रकारिता पुरस्कारको राशि जनही पाँच हजार रूपैयाँ छ । माघ १९ गते बिर्तामोडमा हुने फोनिज झापाको सातौं जिल्ला अधिवेशनको अवसरमा उक्त पुरस्कार प्रदान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्