Logo

सुर्खेतमा १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या आरोपमा चार नाबालक पक्राउ



सुर्खेत, २६ फागुन । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरकै चार जना नाबालकलाई नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ परेकाहरू सबै १८ वर्षभन्दा कम उमेरका रहेका छन्।

पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर–१ मा बस्दै आएकी इनिसाको फागुन २३ गते मृत्यु भएको थियो।

उनी सोही दिन बिहान वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वनमा बेहोस अवस्थामा फेला परेकी थिइन्। तत्कालै उनलाई उपचारका लागि प्रदेश अस्पताल कालागाउँ लगिएको थियो। तर अस्पताल पुगेपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

इनिसा कक्षा ११ मा अध्ययनरत थिइन्। उनको सामूहिक बलात्कारपछि हत्या गरिएको आशंकामा मृतकका आफन्तहरूले फागुन २४ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएका थिए। यसबारे जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता तथा डीएसपी मोहनजंग बुढथापाले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्