काठमाडौँ, १८ भदौ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले सत्तारूढ गठबन्धन चुनावसँग डराइरहेको टिप्पणी गरेका छन् ।
सत्तारूढ गठबन्धन आउँदो प्रदेश सभा र प्रतिनिधि सभा चुनावमा जान डराइरहेको उनको भनाइ थियो ।
पार्टीको केन्द्रीय सम्पर्क समन्वय कमिटीले शनिवार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेम्वाङले सत्तारूढ दलहरूकै कारण मङ्सिर ४ गते नै चुनाव हुनेमा ढुक्क हुने अवस्था नरहेको पनि पटक-पटक दोहोर्याएका हुन् ।
उपाध्यक्ष नेम्वाङले चुनावपछि पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बन्ने दाबी गर्दै त्यसको तयारीमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरेका छन् ।
उनले भने, ‘सरकार चुनावदेखि डराइरहेको छ । चुनाव घोषणा गरेपछि सरकार साह्रै ठूलो त्रासमा छ । चुनाव हुन्छ भन्ने ढुक्क छैन । पालिका चुनाव पनि आफ्नो पार्टीको दबाबमा मात्रै गरेको हो । आफूलाई लोकतान्त्रिक हुँ भन्ने कांग्रेस नेतृत्वको सरकार गठबन्धन बनाएर पनि एमालेसँग चुनाव लड्न त्रसित छ ।’







