फाइल तस्बिर
काठमाडौँ, २९ असार । प्रतिनिधिसभाका सदस्य एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सुशासन कायम गर्न राजनीतिक दलसँगै पत्रकारिता जगत्ले पनि महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताएका छन् ।
राष्ट्रिय समाचार समितिको केन्द्रीय कार्यालयमा आज आयोजित नेपाल प्रेस युनियन रासस प्रतिष्ठान शाखाको चौथो अधिवेशनमा उनले राजनीतिक दलसँगै पत्रकारिता क्षेत्रले सुशासन कायम गर्न सहकार्य गर्नुपर्ने बताएका हुन् ।
“कुनै पनि सन्दर्भमा भ्रष्टाचार स्वीकार्य हुँदैन । भ्रष्टाचारमा शून्य सहनशीलताको नीति निर्माण गर्न नसकेसम्म सुशासन कायम गर्न सकिँदैन”, उनले भने, “त्यसैले सुशासन कायम गर्ने सन्दर्भमा पत्रकारिता क्षेत्रको महत्त्वपूर्ण भूमिका हुन्छ ।”
नागरिकको समस्या र आवश्यकताका विषयमा आम सञ्चारमाध्यमले प्राथमिकता दिनुपर्नेमा जोड दिँदै उनले अधिवेशनबाट आउने नयाँ नेतृत्वलाई राजनीतिक निकटताभन्दा पनि वर्गीय हितमा केन्द्रित रहन सुझाव दिए ।







