Logo

सुशासनको अभावमा विकास हुन सकेन: गृहमन्त्री



महोत्तरी, २५ माघ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासनको अभावमा मुलुकले विकासको गति लिन नसकेको बताएका छन् ।

महोत्तरीको बर्दिबास-३ गौरीडाँडास्थित आधारशिला परिवारको २१औँ वार्षिकोत्सव समारोहको आज उद्घाटन गर्दै मन्त्री श्रेष्ठले भ्रष्टाचारविरुद्ध सरकार निर्मम तरिकाले प्रस्तुत भएको बताएका हुन् ।

“मुलुकको विकासको मुख्य बाधक भनेकै भ्रष्टाचार र कुशासनको जालो हो, उपप्रधानमन्त्री श्रेष्ठले भने, “यसविरुद्ध सरकारले काम थालेपछि जालीहरुका आँगनमा कोकोहोलो मच्चिएको छ । त्यसैले पछिल्ला केही दिनयता जाली तमसुकको लुट मच्चाउने अनुचित लाभ लिने ‘मिटरब्याजी’, सरकारी कार्यालयमा बिचौलिया बनेर कमाउ धन्दा चलाउनेलाई कारबाहीको दायरमा ल्याइन्छ ।”

आधारशिला श्रमजीवी जनताको आस्थाको केन्द्र भएको हुँदा यो ठाउँबाट सामाजिक फट्याइँ, धुर्त्याइँ र जालझेलविरुद्ध सम्झौताविहीन आन्दोलनको नेतृत्वको अपेक्षा सर्वसाधारणले राखेका उनले उल्लेख गरेका थिए ।

“सरकार मिटरब्याजी, भ्रष्टाचारी र कुशासनविरुद्ध परिणाममुखी काममा लागेको छ,” आधाशिला परिवारका मुख्य संरक्षकसमेत रहनुभएका श्रेष्ठले भने, “पछिल्लो पटक ठूला अनियमितताका ‘फाइल’ खोलिँदै गएपछि जालझेल गर्नेहरू सरकारका कामलाई निष्प्रभावी बनाउन उद्यत् छन् तर सरकारले भ्रष्टाचारविरुद्धको कामलाई परिणाममा पु¥याएर छाड्नेछ ।”

प्रतिक्रिया दिनुहोस्