झापा, ९ पुस । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले पत्रकारले सुशासनका पक्षमा कलम चलाउनुपर्नेमा जोड दिएकी छन् ।
नेपाल पत्रकार महासङ्घ झापाको ३५औँ स्थापना दिवसका अवसरमा आज आयोजित संस्थापकलाई सम्मान तथा पत्रकार सहारा उपचार कोषमा रकम हस्तान्तरण कार्यक्रममा उनले मुलुकको समृद्धिका लागि पत्रकारले भ्रष्टाचारविरुद्ध र सुशासनका पक्षमा कलम चलाउनुपर्ने बताएकी हुन् । विकसित मुलुकमा भ्रष्टाचार न्यून हुनुमा पत्रकारहरुले खेलेको भूमिका महत्त्वपूर्ण हुने उपसभामुख रानामगरको भनाइ थियो ।
“हरेक क्षेत्रमा सुशासन कायम गर्न आँट र विश्वासका साथ पत्रकारहरुलाई अघि बढ्न म आग्रह गर्दछु”, उनले भन्नि, “लोकतन्त्र आउनुमा पत्रकारको भूमिका महत्त्वपूर्ण छ ।” उनले कानुन मात्र बनाएर सुशासन नआउने भन्दै सोको कार्यान्वयनको पक्ष मजबुद हुनुपर्ने उल्लेख गरेकी थिइन् ।
महासङ्घ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक सचिव तारा बराल, सदस्य गोविन्दचन्द क्षेत्री र मोहन ढुङ्गानालाई सम्मान गरिएको थियो । उनीहरुलाई प्रमुख अतिथि रानामगरले सम्मानपत्र प्रदान गरेकी हुन् ।
सोही अवसरमा विभिन्न दाताले पत्रकार सहारा उपचार कोषका लागि रू १० लाख सहयोग प्रदान गरेका छन् ।
उक्त कार्यक्रममा सम्मानित एवं संस्थापक सचिव बराल र कोषमा सहयोगकर्ता विनोद बस्नेतले शुभकामना मन्तव्य राखेका थिए ।
उपाध्यक्ष सुशीला सङ्ग्रौलाले मन्तव्यबाट स्वागत गरेकी थिइन् भने औचित्यमाथि प्रकाश उपाध्यक्ष केशव भट्टराईले गरेको कार्यक्रमको सञ्चालन सचिव डिकेश लामाले गरेका थिए ।







