विराटनगर, १७ कात्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं मोरङ निर्वाचन क्षेत्र नं ६ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार डा शेखर कोइरालाले मुलुकमा सुशासन कायम गरी समृद्ध नेपाल निर्माणका लागि गठबन्धन दललाई विजयी गराउन आग्रह गरेका छन् ।
विराटनगर महानगरपालिका-४ स्थित राजवंशी चोकमा आज आयोजित कोणसभामा उनले कांग्रेस भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न अत्यन्त गम्भीर रहेको र यसमा कुनै किसिमको शङ्का नगर्न आग्रह गरेका थिए ।
नेता कोइरालाले विराटनगरलाई व्यवस्थित सहर निर्माण गर्ने जिम्मा गठबन्धनले लिएको उल्लेख गरे । नगर भएर बग्ने दुई खोला केशलिया र सिंघियामा तटबन्ध निर्माण गरी व्यवस्थित र रमणीय बनाउनेतर्फ आफ्नो प्रयास रहने उनले धारणा राखेका थिए ।
केशलिया खोलामा सुनसरीको दुहवीदेखि विराटनगरको रानीसम्म सडक करिडोर निर्माण गर्न रु १४ अर्बको योजना अगाडि बढेको डा कोइरालले सो अवसरमा जानकारी दिए ।







