Logo

सुशासन कायम गर्दै नीतिगत सुधारका पक्षमा सरकारले काम गर्नुपर्छ: डा.वाग्ले



काठमाडौँ, ३ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा.स्वर्णिम वाग्लेले सुशासन कायम गर्ने र नीतिगत सुधारको प्रयासमा सरकारले काम गर्नुपर्नेमा जोड दिएका छन् ।

आज यहाँ आयोजना भएको ‘आरबिबिएल म्यानेजमेन्ट कन्फ्रेन्स-२०२४’ मा उनले सुशासन कायम गर्ने र नीतिगत सुधारको प्रयाससहित सत्तारुढ दलले न्यूनतम साझा सङ्कल्प ल्याएर जनतालाई शुसासनको अनुभूति दिलाउने गरी काम गर्नुपर्नेमा जोड दिएका हुन् ।

सांसद वाग्लेले अर्थतन्त्रको सुधारलाई मुख्य केन्द्रमा राखेर जनतामा भरोसा जगाउने गरी सरकारले न्यूनतम साझा कार्यक्रम ल्याउनुपर्ने भन्दै यसले सुशासनका साथै आर्थिक नीति सुधारमा नयाँ प्रस्थान बिन्दु तय गर्ने बताए । सुधारको प्रयास गर्ने भनेर प्रधानमन्त्रीका तर्फबाट प्रतिबद्धता आएकाले आफ्नो दल सरकारमा गएको दाबी गर्दै उनले सरकारमा बसेर काम गर्न नसकेको अवस्थामा रास्वपाले सरकार छोड्ने बताएका हुन् ।

“सुशासनको प्रत्याभूतिसहित नयाँ आशा जगाउने तथा दण्डहिनताको अन्त्य गर्नुपर्छ । विभिन्न भ्रष्टाचार र आर्थिक अनियमिततामा जोडिएका व्यक्तिलाई कारबाहीको दायरामा ल्याउने गरी सरकारमा रहेका सबैले काम गर्नुपर्छ”, सांसद वाग्लेले भने ।

“लघुवित्त, मिटरब्याज, सहकारीलगायत विभिन्न क्षेत्रका समस्या अहिले देखिएका छन् । यी समस्या समाधानको पहल सुरु भइसकेको छ । रास्वपा सामाजिक न्यायसहितको उदार अर्थतन्त्रका पक्षमा सधैँ वकालत गरिरहन्छ । सरकारले पनि दण्डहिनताको अन्त्य गरी विद्यमान समस्या समाधानका पक्षमा काम गर्नुपर्ने अवस्था छ”, सांसद वाग्लेले भने ।

अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि सार्वजनिक वित्त व्यवस्थापनका क्षेत्रमा देखिएका चुनौतीलाई सम्बोधन गर्नु आवश्यक रहेको उनले बताए । पछिल्लो समय बजार माग र खपतमा (मार्केट डिमाण्ड एण्ड कन्जम्सन) कमी आएको वाग्लेको भनाइ छ । नेपालको युवा जनशक्ति विदेशिएका कारण खपतमा कमी आएको उनको दाबी छ । पछिल्लो समय साना र मझौला व्यवसायी पलायन भइरहेको पनि उनले बताएका छन् । अहिलेको सरकारले संरचनागत सुधारका लागि प्रयास गर्नुपर्ने उनको भनाइ छ ।

अहिले चालु खर्च र सार्वजनिक ऋणको साँवाब्याज भुक्तानीमा ठूलो रकम खर्च भइरहेको बताउँदै सांसद वाग्लेले पुँजी निर्माण गर्ने विकास खर्च भने निकै कम रहेको बताए । उपभोक्ता मागको सङ्कुचन र विकास खर्चमा देखिएको न्यूनताका कारण निजी क्षेत्रको लगानी पनि बढ्न नसकेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्