काठमाडौँ, २७ साउन । प्रमुख सत्तारुढ घटक नेपाली कांग्रेसका नेता शेखर कोइरालाले भ्रष्टाचारको अन्त्य र सुशासनको प्रत्याभूति दिन नसके वर्तमान सरकार धेरै दिन टिक्न नसक्ने बताएका छन् ।
नेपाली कांग्रेस भक्तपुर क्षेत्र नम्बर २ प्रदेश सभा (ख) ले शनिबार भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा उनले सुशासन दिने सरकार मात्रै टिक्ने बताए ।
नेता कोइरालाले नेपालमा वैदेशिक लगानी भित्र्याउन पनि भ्रष्टाचार अन्त्य हुनुपर्ने आवश्यक्ता रहेको तर्क गरेका थिए ।
उनले अमेरिकाको पछिल्लो वैदेशिक नीतिमा पनि नेपालमा लगानीका लागि भ्रष्टाचार र सुशासन मुख्य समस्या रहेको औंल्याइएको उल्लेख गर्दै त्यसलाई कम गर्न सत्तारुढ गठबन्धन र सरकारले जोड दिनुपर्ने बताए ।
नेता कोइरालाले राजनीतिक स्थिरता, भ्रष्टाचारको अन्त्य, लगानीमैत्री कानुन निर्माण गर्नसके समृद्ध र समुन्नत नेपाल बनाउन कुनै समस्या नहुने स्पष्ट पारेका थिए ।







