तनहुँ, ६ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा सुशासन, विकास र समृद्धिको यात्रा प्रारम्भ भइसकेको बताएका छन् ।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)ले आज तनहुँको बन्दीपुर गाउँपालिका-१ डुम्रेमा आयोजित चुनावीसभामा प्रधानमन्त्री दाहालले यो यात्रालाई पूर्णता दिने अभियानमा आफूहरु रहेको बताए ।
उनले देशमा सुशासनको यात्रा सुरु भइसकेको भन्दै त्यसलाई पूर्णता दिन आफूहरु प्रतिबद्ध रहेको बताए । मुग्लिन पोखरा सडकको काम सुस्त गतिमा भएकाले जनताले असजिलो र पीडा महशुस गर्दै आएकाले सडकको कामलाई तीव्रता दिइने प्रधानमन्त्री दाहालले बताएका हुन् ।
बन्दीपुरमा लिफ्टिङ गरेर खानेपानी योजना पूरा गराउन सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले तनहुँ र चितवन जोड्ने घुमाउनेमा बन्दै गरेको पुल एक वर्षभित्र निर्माण सम्पन्न गरिने बताए ।







