गण्डकी, १९ माघ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ‘सुशासन, सामाजिक न्याय र समृद्धि’ को लक्ष्य हासिल गर्न स्थानीय प्रशासन र सुरक्षा संयन्त्रको प्रभावकारी परिचालन महत्वपूर्ण आधार भएको बताएका छन् ।
गृह मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेशको आयोजनमा आजदेखि पोखरामा सुरु गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठी २०८० को उद्घाटन गर्दै उनले नागरिक सरोकारका सेवाको प्रभावकारी व्यवस्थापन गर्दै राज्यले लिएको आर्थिक, सामाजिक र भौतिक विकासको लक्ष्य पूरा गर्नसमेत सुरक्षा व्यवस्था सुदृढ गर्नु आवश्यक रहेको बताएका हुन् ।
भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने कार्यमा सुरक्षा तथा राज्यका सबै निकायको अहम् दायित्व रहेको उनले बताए । कामकारबाहीमा देखिने स्वार्थको द्वन्द्व न्यूनीकरण गर्न ‘नतिजामूलक स्पष्ट कार्य ढाँचा’ तयार गर्नुपर्ने उनले बताएका छन् ।
राष्ट्रसेवक कर्मचारी तथा सुरक्षाकर्मीका बीचमा अधिकार तथा कार्यक्षेत्रका सम्बन्धमा देखिने द्वन्द्वले सकारात्मक सन्देश नजाने गृहमन्त्रीले बताए । संविधान र कानुनले व्यवस्था गरेबमोजिम मात्र निर्दिशत हुने, संस्थागत एवं व्यावसायिक समन्वय र सहकार्यलाई प्रवद्र्धन गर्ने, सामूहिक एवं व्यक्तिगत जवाफदेहिताको संस्कृति निर्माण गरी ‘नागरिक पहिले’ भन्ने सिद्धान्तअनुरुप काम गर्न उनले निर्देशन दिए ।
सङ्घीय व्यवस्थाको कार्यान्वयनसँगै अवसर र चुनौती थपिएका छन् भन्दै उनले शासकीय प्रणाली तथा प्रविधिमा हुने परिवर्तनले सामाजिक जीवनका विविध आयाममा प्रभाव पारेको बताए । तहगत सरकारका निकायबीच समन्वय बढाउँदै स्थानीय प्रशासन र सुरक्षा निकायको परिचालनलाई थप प्रभावकारी बनाउन आवश्यक भएको बताएका छन् । उनले भने, “यस्ता गोष्ठीबाट लक्ष्यित परिणाम प्राप्त हुनेमा म विश्वस्त छु ।”
स्थानीय प्रशासन र सुरक्षा व्यवस्थाको सुदृढीकरणबाट मुलुकको आर्थिक समृद्धिका लागि अनुकूल वातावरण निर्माण गर्दै जनतामा सरकारप्रतिको भरोसा अभिवृद्धि गर्न सबै सुरक्षा निकायको महत्वपूर्ण भूमिका हुने गृहमन्त्रीले बताए ।
संविधानअनुरुप सरकारले गृह मन्त्रालयलाई आमजनताको जीउधनको सुरक्षा, विधिको शासनको पालना, मानव अधिकारको रक्षा र खुला बजारको नियमन गर्दै सामाजिक स्थायित्व कायम गर्ने महत्वपूर्ण जिम्मेवारी सुम्पिएको स्पष्ट पारेका थिए । सुशासन, स्थिरता र विकासका लागि मन्त्रालयले प्रदेश तथा स्थानीय सरकारको सहकार्यमा निरन्तर काम गरिरहेको उनले बताए ।







