झापा, २० फागुन । काँकरभिट्टामा आयोजित एक कार्यक्रमका बीच नारी सञ्चार गृह झापा र एकव्यक्तिलाई सम्मान तथा पुरस्कृत गरिएको छ ।
सुसेली साहित्य परिवारद्वारा काँकरभिट्टास्थित खानेपानीको सभाहलमा आयोजित कार्यक्रममा झापाका महिला पत्रकारहरुको छाता संस्था नारी सञ्चार गृह झापा र महिला उद्यमी निर्मला चौहानलाई सम्मान गरिएको हो ।
सुसेली साहित्य परिवारका अध्यक्ष पुण्यप्रसाद खरेलको अध्यक्षता तथा प्राज्ञ गंगा सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा यस वर्षको स्व. बेदकुमारी रेग्मी कर्मठ महिला पुरस्कारबाट नारी सञ्चार गृह झापालाई संस्थागत सम्मान तथा पुरस्कार प्रदान गरिएको हो ।
२०६९ सालमा झापाका महिला पत्रकारहरुको क्षमता र दक्षता अभिबृद्धि गर्ने तथा अन्य क्षेत्रमा आवद्ध महिलाहरुका आवाजलाई मुखरित गर्ने, पदमा रहेका महिलाको जिम्मेवारी प्राप्त गरेको छ वा छैन अनि प्राप्त जिम्मेवारी पूरा गरेको छ कि छैन रु भन्ने कुराहरुको उठान गर्नुका साथै सार्वजनिक सरोकारका विषयवस्तुको उठान गर्दै समाधानका लागि पहल गर्ने जस्ता काम गर्दै आएको छ ।
संस्थाकी अध्यक्ष रेजिना गौतम, निवर्तमान अध्यक्ष भिमा शिवाकोटी, संस्थापक अध्यक्ष सावित्रा दाहाल, पूर्व अध्यक्ष अम्बिका भण्डारीसहित कार्यसमितिको टोली सामूहिक रुपमा सम्मान पत्रसहित पुरस्कार राशी ग्रहण गरेको सुसेली साहित्य परिवारकी संस्थापक सुभद्रा भट्टराईले जानकारी दिइन् ।
स्व. बेदकुमारीको नाममा झापा चन्द्रगढी निवासी भाषाविद चुडामणी रेग्मी र उनको परिवारले स्थापना गरेको पुरस्कारको राशी १८ हजार नगद र सम्मान पत्र रहेको छ । बेदकुमारी रेग्मी झापाको सञ्चार क्षेत्रमा पहिलो महिला प्रकाशक पनि हुन् ।
त्यस्तै डा. मुकेशकुमार–जनककुमारी चालिसे विज्ञान पुरस्कारबाट निर्मला चौहानलाई पुरस्कृत गरिएको हो । महिला उद्यमी चौहान खोसेलाका फूल, परालको पिरा, रुद्राक्षको मालाबाट झोला लगायतका सामग्री बनाएर विक्री गर्नुका साथै सिप सिकाउने काम गर्दै आएकी छन् ।
सोही अवसरमा सुसेली बार्षिक साहित्यिक अंक–२१ र शारदा कोइरालाद्वारा लिखित ठिक÷बेठिक कथा संग्रह लोकार्पण गरिएको थियो । लोकार्पित सुसेलीको बार्षिक अंकमाथि दामोदर ढुङ्गेल र कथा संग्रहको ज्ञानेन्द्र ढुङ्गानाले समिक्षा गरेका थिए ।
संस्थाका सचिव कनक कार्कीले सञ्चालन र केन्द्रप्रसाद भट्टराइको स्वागत रहेको कार्यक्रममा प्रमुख अतिथि सुवेदी, विशिष्ठ अतिथिहरु चुडामणी रेग्मी, श्रीप्रसाद मैनाली, सम्मानितका तर्फबाट नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतम, निर्मला चौहान लगायतले शुभकामना मन्तव्य राखेका थिए ।






