काठमाडौँ, ११ पुस । मुलुकका मध्यपहाडी जिल्लालाई यातायात सञ्जालमा जोडी त्यस क्षेत्रको आर्थिक, पर्यटकीय र शैक्षिकलगायत समग्र क्षेत्रको सन्तुलित विकास गर्ने उद्देश्यले निर्माण सुरु गरिएको पुष्पलाल ९मध्यपहाडी० राजमार्गको निर्माण तीव्र गतिमा हुँदै छ ।
यसैबिच सरकारले उक्त राजमार्गलाई द्रुत सञ्चारका लागि सूचना महामार्गका रूपमा पनि निर्माणमा तीव्रता दिएको छ । यसका साथै दस वटा आधुनिक सहर पनि यही राजमार्ग अन्तर्गत स्थापना हुँदै छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पहिलो पटक प्रधानमन्त्री हुँदा सुरु भएको यो राजमार्ग हालसम्म करिब तीन तिहाइ निर्माण भइसकेको छ । मुलुकलाई पूर्वपश्चिम जोड्ने महेन्द्र राजमार्ग र हुलाकी राजमार्गपछिको यो तेस्रो राजमार्ग हो ।
पूर्वमा पाँचथरको चिवाभन्ज्याङ (नेपाल–भारत सिमाना) देखि पश्चिममा बैतडीको झुलाघाट (महाकाली नदी) सम्म पुग्ने गरी करिब एक हजार ८७९ किलोमिटर लम्बाइको निर्माणाधीन यो राजमार्गको अहिलेसम्मको भौतिक प्रगति ७२.९६ प्रतिशत र वित्तीय प्रगति ७८.२४ प्रतिशत पुगेको उक्त राजमार्ग आयोजनाका प्रमुख कुबेर नेपालीले जानकारी दिए ।
उनले भने, “राजमार्गको कुल लम्बाइमध्ये आयोजनाबाट ९४८ किलोमिटर, अन्य सडक निकायबाट ४६२ किलोमिटर गरी एक हजार ४१० किलोमिटर सडक कालोपत्रे भइसकेको छ भने अहिले ३५३ किलोमिटर सडक निर्माणाधीन छ ।”उहाँका अनुसार यस राजमार्ग अन्तर्गत निर्माण गर्नुपर्ने १३७ पुलमध्ये १०२ वटा पुल सम्पन्न भइसकेका छन् भने अहिले २० वटा पुल निर्माणाधीन छन् । त्यसै गरी अहिलेसम्म ११६ किलोमिटर सडक र १५ वटा पुलको ठेक्का व्यवस्थापन हुन बाँकी छन् । यो आयोजना अन्तर्गत अहिलेसम्म ६५ अर्ब ९७ करोड रुपियाँ खर्च भइसकेको छ ।
आयोजना प्रमुख नेपालीका अनुसार चालु आर्थिक वर्ष २०८०र८१ मा अहिलेसम्म ७।५ किलोमिटर सडक कालोपत्रे भएको र एक अर्ब २१ करोड रुपियाँ खर्च भइसकेको छ । यो आयोजनाले चालु आव २०८०र८१ मा एक सय किलोमिटर सडक कालोपत्रे गर्ने, १८ वटा पुल निर्माण गर्ने र तीन अर्ब ८६ करोड ९२ लाख रुपियाँ खर्च गर्ने लक्ष्य लिएको छ ।
यस आयोजनामा अपेक्षित उपलब्धि हासिल गर्न झन्झटिलो रुख कटान प्रक्रिया, निर्माण सामग्री अभाव, विद्युत्का खम्बा, खानेपानीको पाइप, पुरातात्त्विकरसांस्कृतिकरधार्मिक महत्त्वका मठमन्दिर, मुआब्जा तथा क्षतिपूर्ति विवाद, सडक सीमा विवाद र निर्माण व्यवसायीको लापर्बाही मुख्य समस्या रहेको आयोजना प्रमुख नेपालीले बताए ।
राष्ट्रिय यातायात नीति २०५८ मा पूर्वपश्चिम राजमार्गको विकल्पका रूपमा नेपालको मध्यपहाड हुँदै पूर्वदेखि पश्चिमसम्म सडक निर्माण गर्ने उल्लेख गरिएबमोजिम पुष्पलाल (मध्यपहाडी) राजमार्ग नामकरण गरी २०६४र६५ बाट आयोजना कार्यान्वयन सुरु भएको हो । मन्त्रीपरिषद्को २०६५ फागुन २६ गतेको निर्णयबाट यस राजमार्गको रेखाङ्कन स्वीकृत भएको थियो ।
मध्यपहाडका २६ जिल्लाका २१५ बस्ती जोड्दै निर्माण हुने यस राजमार्गबाट मध्यपहाडमा बसोबास गर्ने करिब एक करोड जनता प्रत्यक्ष लाभान्वित हुने विश्वास गरिएको छ । त्यसै गरी यस राजमार्गको सञ्चालनबाट उक्त क्षेत्रको आर्थिक, सामाजिक विकासमा प्रगति हुनुका साथै सो क्षेत्रबाट हुने बसाइँसराइ निरुत्साहित भई भौगोलिक तथा वातावरणीय सन्तुलन कायम हुने बताइएको छ ।
यस आयोजनालाई आव २०६७र६८ देखि दुई खण्डमा विभाजन गरी मध्यपहाडी पूर्व खण्ड (करिब ७२१ किलोमिटर) र मध्यपहाडी पश्चिम खण्ड (करिब एक हजार १५८ किलोमिटर) गरी दुई वटा आयोजनाबाट निर्माण कार्य भइरहेकोमा आव २०७५र७६ देखि पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना निर्देशनालय र निर्देशनालय अन्तर्गत पाँच वटा योजना कार्यालय (पाँचथर, काभ्रे, गोरखा, पर्वत र दैलेख) बाट यस राजमार्गको निर्माण हुँदै आएको छ ।
यो राजमार्ग एउटा रूपान्तरणकारी योजना हुन सक्ने अपेक्षाका साथ सरकारले आव २०६९र७० देखि आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत गरी मुलुकको विकास निर्माणको उच्च प्राथमिकतामा राखेको छ । यस राजमार्गको रेखाङ्कनभित्र पर्ने विभिन्न जिल्लामा १० वटा आधुनिक सहर विकास गर्ने लक्ष्यसमेत रहेको हुँदा सो क्षेत्रमा आर्थिक गतिविधिमा वृद्धि भई रोजगारीका थप अवसर सिर्जना हुने र सर्वसाधारण जनताको जीवनस्तरमा उल्लेख्य सुधार आउने अपेक्षा गरिएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।







