भारत, १५ भदौ । चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक खोजी यान अवतरण गराउने पहिलो राष्ट्र बन्न सफल भएको एक सातापछि नै भारत सूर्यको अनुसन्धान गर्ने अन्तरिक्ष अभियान पठाउनका निम्ति तयार भएको छ ।
भारतको योजना अन्तरिक्षमा आधारित एउटा वेधशाला त्यता प्रक्षेपण गर्नु रहेको छ जस्ले पृथ्वीको सबैभन्दा नजिकको तारा पनि भनिने सूर्यको अनुगमन र अनुसन्धान गर्न सकोस् । त्यस्तो प्रकारको भारतको पहिलो अन्तरिक्ष अभियानले नजिकबाट सौर्य आँधी जस्ता अन्तरिक्ष मौसमी गतिविधिहरूको अध्ययन गर्नेछ ।
सूर्यको अध्ययन गर्ने त्यो नितान्त पहिलो अन्तरिक्ष अभियान भने होइन नासा र युरोपेली अन्तरिक्ष एजेन्सी (इएसए) ले त्यस्तो उद्देश्यका साथ पहिले नै सूर्यको परिक्रमा गर्ने यान पठाइसकेका छन् । तर भारतको यो पछिल्लो अन्तरिक्ष अभियानका केही अर्थमा विशिष्ट गुणहरू पनि छन् ।







