पोखरा, १८ पुस । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आजदेखि कास्की जिल्ला अदालतमा जाहेरवालाहरुको तर्फबाट वकिलहरुले थुनछेक बहस गर्दैछन् ।
नेपालका कान्छा न्यायाधीश नीतिज राईको इजलासमा सरकारी वकिलहरुले थुनछेक बहस सकेपछि आजबाट जाहेरवालाको तर्फका वाकिलहरुले थुनछेक बहस गर्न लागेका हुन् । अब जाहेरवालातर्फबाट बहस सकिएपछि प्रतिवादीका तर्फबाट बहस हुनेछ ।
प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, डा। नारायण घिमिरे, हरि सुवेदी, रोहित बाँस्तोला, डा। नारायणदत्त कँडेल, सुदीज्ञ पन्त लगायतले बहस गर्ने तयारी गरेका छन् । रास्वपा सांसदसमेत रहेकी सोविता गौतम पनि प्रतिवादी रवि लामिछानेलगायतको पक्षमा बहस गर्ने तयारी छ।
यसअघि बुधबार सरकारी वकिल कार्यालयका तर्फबाट नायव महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी, उपन्यायाधिवक्ता प्रकाश गौतम, सहन्यायाधिवक्ता सुजाता पौडेल, शान्तिदेवी शर्मा, विपिनराज तिवारी र कमला काफ्लेले बहस गर्नुभएको थियो ।
उहाहरुले पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेसहितका प्रतिवादीहरुलाई सूर्यदर्शन सहकारी संस्थाको रकम अपचलन मुद्दामा पूर्पक्षमा पठाउनुपर्ने तर्क प्रस्तुत गनुभएको थियो ।
दुवै पक्षको बहसपछि उच्च सरकारी वकिल कार्यालयका अधिवक्ताहरुले जवाफी बहस गर्ने छन् । त्यसपछि बल्ल प्रतिवादीहरूलाई थुनामा राखेर मुद्दा फैसला गर्ने कि बाहिरै राखेर भन्ने आदेश न्यायाधीशले सुनाउने छन् ।
सहकारीको रकम अपचलन आरोपमा पूर्वगृहमन्त्री एवम् गोर्खा मिडिया प्रालिका पूर्वप्रबन्धकसमेत रहेका लामिछानेसहित ४४ जनाविरुद्ध १ अर्ब ५१ करोड ४० लाख १९ हजार बिगो दाबी गर्दै जिल्ला सरकारी वकिलको कार्यालयले यही पुस ७ गते मुद्दा दायर गरेको थियो ।
लामिछानेसँगै रामबहादुर खनाल, पूर्वडीआईजी छविलाल जोशी, जोशी र लीला पछाईंविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दायर गरिएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरेको छ ।