काठमाडौँ, २ मंसिर । निर्वाचन आयोगले एमालेका प्रतिनिधिसभा उमेदवार सूर्यबहादुर थापालाई पुन: स्पष्टीकरण सोधेको छ ।
मीनबहादुर बुढा (भेलुबाजे) लाई दुई हजार रुपैयाँ दिई आफ्नो निर्वाचन प्रचारप्रसार गराएको भन्ने बेहोराको समाचार प्रकाशन भएपछि आयोगले स्पष्टीकरण सोधेको हो ।
प्युठानबाट उमेदवारी दिएका थापालाई यसअघि पनि आयोगले स्पष्टीकरण सोधेको थियो ।
थापालाई आयोगले सोधेको छ, ‘तपाईंले मीनबहादुर बुढा (भेलुबाजे)लाई नगद वितरण गर्नु भएको हो, होइन? तपाईंले निज मीनबहादुर बुढा (भेलुबाजे) लाई नगद रकम वितरण गरेको भए निर्वाचन आचारसंहिताको उल्लंघनमा तपाईंलाई किन कारबाही हुनु नपर्ने हो?’
आयोगले पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोगको इमेल ठेगानामा वा जिल्ला निर्वाचन कार्यालय प्युठानमा प्राप्त हुने गरी लिखित स्पष्टीकरण पेस निर्देशन दिएको छ ।
केही दिन अगाडि ‘भेलुबाजे’नामबाट चर्चित बुढाले थापाका लागि मत मागेका थिए । पछि उनै बुढाले आफूलाई दुई हजार रुपैयाँ दिएर भोट माग्न लगाइएको बताएका थिए ।







