काठमाडौं, १३ असोज । नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा आज दिउँसो फूलपाती बढाइँको आयोजना गर्दै छ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा हुने उक्त समारोहमा सेनाले राइफलबाट लहरे र एकठ्ठा तथा तोपबाट पनि बढाइँ गर्ने भएका छन् । संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपति पौडेल नेपाली सेनाको परमाधिपति हुन् ।
समारोहमा सैनिक परेड प्रदर्शन, दुर्गा नाचका साथै सेनाको हेलिकप्टरबाट ‘फूलपाती बढाइँ समारोह–२०८२’ लेखिएको व्यानर प्रदर्शन र पुष्पवृष्टि गरिने छ । फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने विशिष्ट मौलिक कार्यक्रम मानिन्छ ।
गोरखाबाट ल्याइएको जमरा र फूलपाती हनुमान ढोका दसैँ घरमा साइत जुराएर भित्रयायसँगै टुँडिखेलमा फूलपाती बढाइँ गर्ने परम्परा छ । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रिगणलगायत विशिष्ट महानुभाव सहभागी हुनेछन् ।
बडादसैँको सप्तमी अर्थात् फूलपातीका दिन सेनाले हरेक वर्ष सैनिक मञ्च टुँडिखेलमा समारोहका बीच फूलपाती बढाइँ गर्दै आएको छ ।